पाठशाला न्यूज
 २०८२ मंसिर २५, बुधवार    

५४ लाख धरौटी बुझाएर छुटे रवि र भने 'यो परिवर्तनको प्रसव पिडा हो'

२०८१ माघ २५, शुक्रवार ०७:५४ बजे

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन जिल्ला प्रहरीको हिरासतबाट रिहा गरिएको छ । सहकारी ठगीको अभियोगमा जिल्ला अदालत चितवनले मागेको ५४ लाख धरौटी बराबरको बैंक ग्यारेण्टी बुझाएर उहाँ रिहा हुनुभएको हो । 

रविले अदालतबाट निस्किँदै सम्मानित अदालतले न्याय दिन्छ भन्नेमा विश्वास रहेको बताउनुभएको छ । यो परिवर्तनको प्रसव पीडा भएको उहाँको भनाइ छ ।

रविले भन्नुभयो, ‘चितवनवासीले मलाई दुई-दुईपटक निर्वाचित गरेर पठाइसक्नु भयो । तर, जालझेलपूर्ण ढंगले मेरो सांसद पदलाई निलम्बन गरिएको छ । म चितवनवासीलाई के भन्न चाहन्छु भने यो कुरा प्रसव पीडा हो । चितवनले परिवर्तन जन्माउन खोजेको छ । परिवर्तनको गर्भाधारण गरेको संकेत दुईवटा निर्वाचनमा चितवनले दिएको छ । चितवनवासीको मन रोएको छ मलाई थाहा छ । केही चिन्ता नगर्नुस् परिवर्तनको जन्म भएरै छाड्छ र चितवनले त्यसको संकेत गरिसकेको छ । व्यक्ति को हुन्छ मलाई सरोकार भएन तर चितवनले देखेको परिवर्तनको सपना चाँडै पूरा हुन्छ । कोही रुनु पर्दैन, परिवर्तन अवश्य हुन्छ ।’

रिहा भएपछि आफ्ना समर्थकलाई अदालतबाहिर उनले सम्बोधन गर्दै आफ्नो लडाइँ अझै बाँकी रहेको बताउनुभयो । ‘मेरो लडाइँ अझै बाँकी छ । यो मेरो व्यक्तिगत लडाइँ होइन, परिवर्तनको लडाइँ हो । सबै प्रक्रियाहरू सकौँ, त्यसपछि भन्नुपर्ने कुराहरू धेरै छन् महसुस भएका कुराहरू कति छन्, त्यसलाई थाँती राखौँ । बोल्ने समय अहिले भएको छैन’, उहाँले भन्नुभयो । न्यायालयप्रति धेरै आशा र विश्वास रहेको बताउँदै उनले न्यायालय र न्यायमूर्तिहरूप्रति अत्यन्त धेरै आभारी रहेको बताउनुभयो । अदालत परिसरमा उहाँलाई समर्थकले ढाडस दिँदै नडराउन र साथमा आफूहरू रहेको भन्दै लालपुर्जासमेत देखाएका थिए ।